Thursday, January 19, 2012

कवि जीर्ण भागेदारका कविताहरु

लाहुरेकी छोरी

काली-काली गोरी रै’छे
कस्ती राम्री मोरी रै’छे
मौरी भुल्ने तोरी रै’छे
लाहूरेकी छोरी रै’छे !


जुत्ता हेर्दा जुत्तै राम्रा
खुट्टा हेर्दा खुट्टै राम्रा
कर्के आँखा पारी हेर्ने
वैँशै मीठो दीलै चोर्ने !

मस्की-मस्की हाँस्दै बोल्ने
बोली सुन्दा छाती पोल्ने
यस्ती राम्री, यस्ती दामी
चर्चा धेरै सारा नामी !

कस्ता राम्रा राता गाला
आली-आली धान्का बाला
हेर्दाहेर्दै मातै लाग्ने
मेरा आँखा राम्रै ताक्ने !

छन्दः विद्युन्मालामा s x ८

रक्सी र तिमी

(शशिवदना छन्दमा)

जबजब भेटेँ
तबतब हाँस्यौ ।
हिमगिरिजस्तै
मन-मन गाँस्यौ ॥

अलमल पार्दै
नव नव हेर्यौ ।
ढलमल भा'थे
दिलसित बेर्यौ ॥

चमक छ कस्तो
मुख कति दामी ।
म छु बरु यस्तै
बहुत हरामी ॥

अरु किन खोजूँ
मुटु गलिहाल्ने ।
अब कति रोजूँ
मन परिहाल्ने ॥

अलिअलि रक्सी
पिउँपिउँ लाग्यो ।
मुटु त तिमीमै
दिउँदिउँ लाग्यो ॥
________________________
कविता/जीर्ण भागेदार
 
बोल्न नि डराउने बानी बस्यो
कल्पनामा हराउने बानी बस्यो
जो होस् जस्ती होस् जसलाई देखेपनि
एक्कासि मन पराउने बानी बस्यो ।
________________________
रुबाइ/जीर्ण भागेदार

No comments:

Post a Comment